Logo

अर्थ

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार चार अर्ब नाघ्यो



काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार (पुस ३) सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.६६ अंकले ओरालो लागेर २६१५.०३ विन्दुमा बन्द भएको छ।

सो दिन ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ। पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।

बजार घट्दा पनि कुल १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर खरिदबिक्री भएको छ। यसको बजार मूल्य चार अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँ बराबरको रहेको छ। अघिल्लो कारोबार दिन बुधबार यो मूल्य चार अर्ब ५ करोड रुपैयाँ थियो।

स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। उच्च कारोबार गर्ने कम्पनीहरूमध्ये सिन्धु विकास बैंक, कुमारी बैंक डिबेन्चर, सीवाईसी नेपाल लघुवित्त र सप्तकोसी विकास बैंक रहेका छन्।

अर्कोतर्फ, बाराही हाइड्रो, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, एनएमबि डिबेन्चर र मोदी इनर्जी सुपर माई हाइड्रो सबैभन्दा बढी गुमाउने कम्पनी बनेका छन्।

समूहगत उपसूचकमा निर्जीवन बीमा र व्यापार समूह बढेको छ भने होटेल तथा पर्यटन सूचक स्थिर रहेको छ। बाँकी समूह सूचक सबै ओरालो लागेको छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ३ : ५२ बजे