Logo

राजनीति

मन्त्रीहरुले आयोगलाई भने : निर्वाचनको वातावरण बढाउनु भएकोमा धन्यवाद



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गतेको निर्वाचनको लागि वातावरण बनिसकेको बताएका छन् ।
मंगलबार निर्वाचन आयोगसँगको छलफलमा उनले निर्वाचन आयोगले क्यालेन्डर नै बनाएर सबै स्टेक होल्डरहरुलाई निर्वाचनमा समाहित गराइरहेको भन्दै अब निर्वाचन हुन्छ भन्ने कुराको महशुस सबै सदस्यलाई भएको बताए ।
उनले भने, ‘फागुन २१ गतेको निर्वाचनको लागि वातावरण बनिसकेको छ । निर्वाचनको उत्सवमा महोत्सवमा परिणत हुँदै गएको छ । निर्वाचन आयोगले क्यालेन्डर नै बनाएर सबै स्टेकहोल्डरहरुलाई निर्वाचनमा समाहित गर्दै गइरहेको छ । संवेदनशिल, विशेष र चुनौतीपूर्ण अवस्थामा पनि आयोगले निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकार र मेरो मन्त्रालयको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु । अब निर्वाचन हुन्छ भन्ने कुराको महशुस सबै सदस्यलाई भएको छ ।’
यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता सबैलाई समावेश गराएर निर्वाचनलाई सफल बनाउने काम चुनौतीपूर्ण रहेको भन्दै यसमा एलजिबिटिक्यूआई समुदायलाई पनि बिर्सिन नहुने बताइन् ।
उनले भनिन्, ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता सबैलाई समावेश गराएर हामीले यो निर्वाचनलाई कसरी सफल बनाउने भन्ने ठूलो चुनौती हामीले देखिरहेका छौं । विगतमा डाटा हेर्ने हो भने महिलाहरुले मतदान एकदमै कम गरेको देखिन्छ । यसलाई पनि कसरी बढाउने भन्ने बारेमा पनि काम गर्नुपर्ने चुनौति छ । अर्को भनेको एलजिबिटिक्यूआई समुदाय पनि छ यसलाई पनि हामीले छुटाउन सक्दैनौं । उनीहरुले पनि मतदान सहज तरिकाले गर्न सक्ने वातावरण बनाउनुपर्छ ।’
साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले पनि निर्वाचनको वातावरण बन्दै गएको भन्दै यसको लागि धन्यवाद र बधाई दिएका छन् ।
निर्वाचनलाई भयरहित र समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न कानूनमा संशोधन गर्न आवश्यक छ भने त्यसमा सहजीकरण गर्न राष्ट्रपति पनि तयार रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : ०९ बजे