काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनील बहादुर थापाले पदबाट राजीनामा दिएका छन्। तीन वर्षअघि सल्लाहकारको रुपमा नियुक्त भएका थापाले मंसिर १२ गते नै राजीनामा बुझाएका थिए र सोही दिन स्वीकृत भएको हो।
राजीनामा बुझाएपछि उनले जिम्मेवारी हस्तान्तरणका लागि मात्र शीतलनिवासमा पुगेको जानकारी दिए। थापाका अनुसार उनी सक्रिय राजनीतिमा फर्कने तयारीमा छन् र आगामी राष्ट्रियसभा निर्वाचनमा पनि सहभागी हुने इच्छा राखेका छन्।
सुनील थापा दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। उनी पहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग आवद्ध थिए र पछि समूहसहित नेपाली कांग्रेसमा प्रवेश गरे। कांग्रेस प्रवेश गर्दा उनी सहमहामन्त्री बनेका थिए र पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
राष्ट्रपतिको सल्लाहकार बनेपछि पनि उनी कांग्रेसको केन्द्रीय सदस्यताबाट हटाइएका छैनन्।










प्रतिक्रिया