काठमाडौं । राजधानी दरबारमार्गमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड मोक्सीले नेपालमा आफ्नो पहिलो फाइभ–स्टार होटल ‘मोक्सी काठमाडौं’ सञ्चालनमा ल्याएको छ । मेरियट बोनभोय अन्तर्गत विश्वभर फैलिएको मोक्सी ब्रान्डले शुक्रबार काठमाडौँमा औपचारिक रूपमा होटल उद्घाटन गरेको हो ।
दक्षिण एसिया क्षेत्रका लागि मेरियट इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष किरण एण्डिकटका अनुसार काठमाडौँको आधुनिक र परम्परागत वातावरणसँग मेल खाने जीवनशैली–मुखी होटलको माग बढेसँगै मोक्सीलाई नेपालमा ल्याइएको हो । एण्डिकटले मोक्सी दक्षिण एसियामा सञ्चालनमा आएको तेस्रो होटल भएको जानकारी दिए ।
मोक्सी काठमाडौंका क्याप्टेन सुवर्ण थापाका अनुसार दरबारमार्गस्थित होटलले युवा–केन्द्रित वातावरण, सामाजिक गतिविधि र आधुनिक सुविधासहित फरक प्रकृतिको आतिथ्य उपलब्ध गराउने लक्ष्य राखेको छ ।
होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा छ । यहाँबाट अतिथिलाई दरबार स्क्वायर, स्वयम्भूनाथ र ठमेललगायत पर्यटन क्षेत्र सहजै पुग्न सकिने बताइएको छ ।
होटलमा १०१ वटा कोठा छन्, जसलाई स्मार्ट लेआउट, मोसन–एक्टिभेटेड एलईडी लाइट, मॉड्युलर फर्निचर, वाक–इन सावर र ५५–इन्च एचडी स्मार्ट टिभी जस्ता सुविधा समेटेर डिजाइन गरिएको छ । फिटनेस सेन्टरदेखि विभिन्न गतिविधिका लागि सामाजिक क्षेत्रसमेत व्यवस्था गरिएको छ ।
मोक्सी काठमाडौंले लेभल ११ मा मेक्सिकन सेफ मार्टिन हर्नान्डेज लोपेजद्वारा क्युरेट गरिएको ल्याटिन अमेरिकन भोजन सेवा सुरु गरेको छ । त्यस्तै, ‘कारीनो–टेराजा ल्याटिन’ नामक रूफटप लाउञ्जमा खुला वातावरणमा ककटेल र शहरको दृश्य अवलोकन गर्न सकिने सुविधा छ ।
होटलको प्रवेश कक्षमै रहेको मोक्सी बार चेक–इन काउन्टरका रूपमा पनि प्रयोग हुन्छ । खुला लबी, आधुनिक कलाकृति, खेल–मनोरञ्जन क्षेत्र तथा अतिथि–अनुभव बढ़ाउने ‘मोक्सी हुकअप’ जस्ता कार्यक्रममार्फत होटलले फरक शैलीको आतिथ्य प्रदान गर्ने जनाएको छ ।
मोक्सी ब्रान्डअन्तर्गत हाल विश्वका ३० भन्दा बढी देशमा १७० भन्दा धेरै होटल सञ्चालित छन् ।










प्रतिक्रिया