Logo

राजनीति

कांग्रेस काठमाडौं–३ मा एकल नाम सिफारिस भएको भन्दै युवा नेताको आपत्ति, क्षेत्रीय कार्यालयमा तालाबन्दी


२६ मंसिर २०८२, शुक्रबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र नाम सिफारिस गरिएको विषयलाई लिएर आन्तरिक विवाद बढेको छ। पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलका नेता–कार्यकर्ताले क्षेत्रीय कार्यालयमा मंगलबार तालाबन्दी गरेका छन्।

तरुण दलका केन्द्रीय सदस्य दीप लामाको नेतृत्वमा गएको भ्रातृ संगठनका प्रतिनिधिहरूले क्षेत्रीय सभापति श्रीराम चालिसेलाई ध्यानाकर्षण पत्रहरू बुझाएपछि जोरपाटीस्थित कार्यालयमा तालाबन्दी गरिएको हो।

कांग्रेसले प्रतिनिधिसभाका लागि प्रत्येक क्षेत्रबाट तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको भए पनि काठमाडौं–३ बाट सन्तोष चालिसेको नाममात्र केन्द्रमा पठाइएको थियो। उक्त निर्णय पार्टी निर्देशन र विधानविपरीत भएको भन्दै आपत्ति जनाइएको छ।

यस क्षेत्रमा सिफारिसका आकांक्षीमध्ये नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र कांग्रेस नेता शम्भु अधिकारी पनि रहेका थिए। उनीहरूले आधिकारिक रूपमा अघि पठाइएका नाम पन्छ्याएर अनधिकृत रूपमा नयाँ प्रस्ताव अघि सारिएको आरोप लगाएका छन्।

ध्यानाकर्षण पत्रमा «बन्द कोठामा बसेको कार्यसमिति बैठकले पार्टी संरचना र विधान उल्लङ्घन गर्दै एकल नाम सिफारिस गरेको गम्भीर जानकारी प्राप्त भएको» उल्लेख गरिएको छ। पत्रमा सो निर्णयले पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक शुशासन र प्रणालीगत प्रक्रियामाथि प्रतिकूल प्रभाव पारेको दाबी गरिएको छ।

युवा नेताहरूले विवादित सिफारिस तत्काल सच्याउन माग गर्दै निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : १० बजे