काठमाडौं । सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच मंसिर २४ गते भएको सम्झौताअनुसार जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्णयबारे जानकारी दिए।
गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको थियो। नयाँ निर्णयसँगै आयोगलाई थप जिम्मेवारी र अधिकार प्रदान गरिएको छ।
बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत नेपाल न्याय सेवा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई निजामती सेवा ऐन, २०४९ बमोजिम राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।
जेनजी सम्झौता अनुमोदन गरी अतिरिक्तांकसहित नेपाल राजपत्रमा प्रकाशन गर्ने तथा सम्झौताका बुँदालाई सम्बन्धित मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, सरकारले समाजकल्याण परिषद्को रिक्त सदस्यसचिव पदमा नियुक्ति गर्ने निर्णय गरेको छ।










प्रतिक्रिया