Logo

अर्थ

एनसेलले नयाँ ९७१ नम्बर रेञ्जको मोबाइल नम्बर वितरण सुरु गर्‍यो



काठमाडौं । एनसेलले सोमबार (मंसिर २२)देखि ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर रेञ्जको वितरण सुरु गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नम्बर अभाव भएपछि नयाँ रेञ्ज प्रयोगका लागि अनुमति दिएपछि एनसेलले उपभोक्तालाई नयाँ नम्बर उपलब्ध गराउन थालेको हो।

यसअघि प्राधिकरणले जारी गरेका ९८०, ९८१, ९८२ र ९७० नम्बर रेञ्जबाट वितरण गरिने मोबाइल नम्बर पर्याप्त नभएपछि थप रेञ्ज प्रदान गरिएको हो। यो निर्णय राष्ट्रिय नम्बरिङ वितरण योजना (नेशनल नम्बरिङ अलोकेशन प्लान) अनुसार गरिएको प्राधिकरणले जनाएको छ।

एनसेलका चिफ कन्जुमर विजनेस अफिसर उपङ् दत्तका अनुसार डिजिटल कारोबार, सेवा, एप तथा अनलाइन सेवाहरूको प्रयोग बढ्दै जाँदा मोबाइल नम्बरको माग तीव्र रूपमा बढेको छ। “नयाँ नम्बर रेञ्जले उपभोक्ता र सेवा प्रदायक दुवैलाई सहज हुनेछ,” उनले बताए।

एनसेलले सरकारी तथा निजी संस्था, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक कम्पनी, एप र डिजिटल प्लेटफर्महरूलाई आफ्नो प्रणालीमा ९७१ नम्बर रेञ्ज अद्यावधिक गर्न अनुरोध गरेको छ। नयाँ नम्बर रेञ्ज प्रणालीमा समावेश नभए ओटीपी, साइनअप र अन्य सेवामा समस्या देखिन सक्ने जनाइएको छ।

सूचना प्रविधिको विकाससँगै डिजिटल सेवामा मोबाइल नम्बर अपरिहार्य बन्दै गएको अवस्थामा नयाँ ९७१ नम्बर रेञ्जले बढ्दो माग व्यवस्थापन गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : २५ बजे