बिर्तामोड, झापा — नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि उचाल्यो।
पुलिसले पहिलो, तेस्रो र चौथो सेट क्रमशः २५–२३, २५–१८ र २५–२१ ले जित्यो। दोस्रो सेट २५–२० ले एपीएफको पक्षमा रह्यो।
उपाधिसँगै पुलिसले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता बनेको एपीएफ क्लबले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो।
प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पुलिसकी आशिका क्षेत्री घोषित भइन् भने बेस्ट कोच पुलिसका रुपेश विष्ट बने। बेस्ट स्पाइकर एपीएफकी सृष्टि खड्गी, बेस्ट ब्लकर पुलिसकी मनिषा चौधरी, बेस्ट सर्भर एपीएफकी जोस्ना महतो, बेस्ट सेटर पुलिसकी कमला पुन र बेस्ट लिबेरो एपीएफकी जमुना रसाइली घोषित भए।
प्रतियोगिता अर्जुनधारा नगरपालिका–५ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको थियो। आयोजक अर्जुनधारा नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी मावि थिए। झापामा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको छ।
विजेता तथा उपविजेतालाई अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, आयोजक अध्यक्ष सुरेन्द्र धिमाल र नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए।










प्रतिक्रिया