Logo

समाचार

विदेशस्थित नेपालीलाई मताधिकार दिन १० देशका ६० विद्यार्थी समूहको माग



काठमाडौं। विभिन्न १० देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करिब ६० समूहले विदेशस्थित नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान अधिकार सुनिश्चित गर्न सरकारसमक्ष औपचारिक माग गरेका छन् । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, चीन, जापान, भारत, बंगलादेश, हङकङ र फ्रान्सलगायतका देशमा रहेका समूहले उक्त माग गरेका हुन् ।

नव युग, आइआरडी इन्सुलिएमेन, डिजिटल दस्तख, जेनजी मुभमेन्ट अलाइन्स, मुस्लिम जेनजी नेपाललगायत विद्यार्थी समूहले प्रधानमन्त्री, राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।

विद्यार्थी समूहले विदेशमा रहेका नेपाली—विशेषगरी प्रवासी श्रमिक र विद्यार्थीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

मुख्य मागहरू :

१. डिजिटल मतदान प्रणाली

राष्ट्रिय परिचयपत्र वा राहदानीमार्फत एकीकृत प्रमाणीकरण

नागरिकता सम्बन्धी स्वयं घोषणा र डिजिटल बयान

डिजिटल रसिद र भोट सत्यापन प्रणाली

२. पूर्ण मतदान अधिकार

प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा सहभागी हुने व्यवस्था

३. तत्काल कार्यान्वयन

यसै महिनाभित्र स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने

किन डिजिटल मतदान?

विद्यार्थी समूहले नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पोलिसी इन्स्टिच्युटले बाह्य मतदानका लागि ‘आई–भोटिङ’ प्रभावकारी विकल्प भएको सिफारिस गरिसकेको उल्लेख गर्दै, यसलाई विद्यमान राष्ट्रिय परिचयपत्र प्रणालीसँग सजिलै एकीकृत गर्न सकिने बताएका छन् ।

अन्तरिम सरकारले विदेशस्थित नागरिकलाई मताधिकार दिने प्रतिबद्धता जनाएपछि तीन महिना बितिसक्दा पनि ठोस कार्ययोजना नआएकोप्रति विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले निर्वाचन आयोगलाई आवश्यक प्राविधिक पूर्वाधार शीघ्र विकास गर्न, र आयोगमा रिक्त पदमा दक्ष र निष्पक्ष जनशक्ति नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ०१ बजे