काठमाडौं । साहब आलमको कीर्तिमानी प्रदर्शनमा काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । काठमाण्डूले बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै प्लेअफ यात्रा सुनिश्चित गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ ।
१६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमै समेटियो । ऋषि धवनले ३१ बलमा ५४ रन बनाए भने धनञ्जय लक्षणले ३० रन जोडे । यी दुईले पाँचौँ विकेटका लागि ७६ रनको साझेदारी गर्दै खेल फर्काउने प्रयास गरे पनि अन्य ब्याटर असफल हुँदा पोखराले लक्ष्य भेट्न सकेन । कप्तान कुशल भुर्तेलले २2, जासन रोयले १६ तथा त्रितराज दासले ९ रन बनाए । आकाश चन्द र विपिन खत्री ‘गोल्डेन डक’ भए ।
बलिङतर्फ साहब आलमले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए । सोही ओभरमा उनले चार विकेट लिँदै एनपीएल इतिहासमै ह्याट्रिक गर्ने पहिलो बलर बने । कप्तान करण केसी र सन्नी पटेलले समान दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाण्डूले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनायो । ओपनर बेनले ५५ बलमा ६४ रन बनाए भने भीम सार्कीले २३ बलमै पाँच चौका र चार छक्कासहित ५५ रन जोडे । भीमले १९ बलमा अर्धशतक पूरा गर्दै प्रतियोगिताको दोस्रो संस्करणमा सबैभन्दा छिटो ‘फिफ्टी’ बनाउने कीर्तिमानसमेत कायम गरे । पूर्व शृंखलाको कीर्तिमान सुदूरपश्चिमका हर्मित सिंह (२० बल) को नाममा थियो ।
पोखराका धनञ्जय लक्षणले ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले २ विकेट झारे भने किरण ठगुन्ना र विपिन खत्रीले समान १–१ विकेट लिए ।
जितसँगै काठमाण्डूले ७ खेलबाट १० अंक जोड्दै प्लेअफ स्थान पक्का गर्यो । पोखराको प्लेअफ सम्भावना भने यो हारसँगै कमजोर बनेको छ ।










प्रतिक्रिया