काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले अबदेखि उपत्यकाबाट सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन तोकिएको बसपार्कबाट मात्र छुट्न सक्ने व्यवस्था लागू गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पछिल्ला दिनहरूमा लामो दूरीका सवारी साधनले लोकल बसझैं सडकको किनारमा रोकेर यात्रु चढाउने–ओराल्ने बढ्दो प्रवृत्तिका कारण विशेषगरी ‘पिक आवर’मा गम्भीर जाम सिर्जना हुन थालेपछि कडाइ गरिएको हो।
“लामो दूरीका गाडीहरूले नियमविपरीत सडक नै अवरुद्ध गरेर यात्रु उठाउने र झार्ने गरेकाले ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ,” सुवेदीले भने, “अब सबै गाडी अनिवार्य रूपमा बसपार्कबाट मात्र छुट्नुपर्नेछ।”
उनका अनुसार लामो दूरीका सवारी साधनलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने देखिएकाले सम्बन्धित निकायसमक्ष पहल गर्न अनुरोध गरिएको छ।
ट्राफिक जामले नागरिकको दैनिकी, कार्यालय समय र आपतकालीन सेवामै असर पारिरहेकाले दीर्घकालीन समाधानका लागि सम्बन्धित सबै निकायको समन्वय आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ। सडक अनुशासन कडा बनाउन थप अनुगमन र कारबाही पनि तीव्र पारिने जनाएको छ।










प्रतिक्रिया