काठमाडौं। एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा एमालेले १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ।
स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालका अनुसार, उदघाटन सत्रमा उल्लेख्य सहभागिता हुने अनुमान गर्दै स्वयंसेवक परिचालनको व्यवस्था गरिएको हो। बन्दसत्रमा करिब ५०० स्वयंसेवक खटाइने उनले बताए।
एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा उदघाटन हुने छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।
ढकालले भनेका छन् कि स्वयंसेवक पार्टीका २४ जनसंगठन र विभिन्न कमिटीबाट खटाइने छन्। हालै गठन गरिएको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ)ले पनि स्वयंसेवक समन्वय गर्नेछ।
स्वयंसेवकहरू मञ्च व्यवस्थापन, शौचालय र अन्य पूर्वाधार निर्माणमा खटिनेछन्। उदघाटनका दिन पूर्वबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।
महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्ने छ। आयोजक र निर्वाचित गरी करिब २ हजार ४०० प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेले जनाएको छ।










प्रतिक्रिया