काठमाडौं । नेकपा (एमाले)ले आगामी ११औं महाधिवेशनका लागि छानिएका प्रतिनिधिको विवरण डिजिटलाइज गर्ने कार्य तीव्र पारेको छ। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार भूगोलबाट चयन भएका प्रतिनिधिहरूको विवरण फोटोसहित अनलाइन प्रणालीमा राख्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ।
मंसिर १३ गतेसम्म प्रतिनिधि छनोट गरी १५ गतेभित्र केन्द्रमा पठाउन निर्देशन भए पनि प्रदेश तहमा विवरण संकलन तथा अनलाइन प्रविष्टिको काम जारी रहेको अधिकारीले बताए। उनका अनुसार गैरभौगोलिक जिल्ला तथा प्रदेश कमिटी, विभाग, जनसंगठनमार्फत पदेन सदस्य र प्रवासबाटका प्रतिनिधिको विवरण भने केन्द्रीय स्तरमै डिजिटलाइज भइरहेको छ।
डिजिटलाइज गरिएको सम्पूर्ण विवरण एकीकृतपछि पार्टीको वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ।
प्रतिनिधि छनोटका क्रममा उठेका विवादसम्बन्धी उजुरीमा पनि अध्ययन भइरहेको अधिकारीले जानकारी दिए। उनका अनुसार ओखलढुंगा र धनकुटामा उत्पन्न विवाद समाधानका लागि केन्द्रले पत्राचार गरिरहेको छ, साथै अन्य जिल्लाबाट आएका निवेदनहरूको पनि मूल्यांकन भइरहेको छ।
एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुने छ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गर्न तयारी भएको पार्टीले जनाएको छ। महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित छ।










प्रतिक्रिया