Logo

कला/साहित्य

साझा प्रकाशनको ६२औँ वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी सुरु



ललितपुर । साझा प्रकाशनको ६२औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको हरिहरभवनमा बुधबार पुस्तक प्रदर्शनी सुरु भएको छ।

प्रदर्शनीको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले गरेका हुन्। उनले साझा प्रकाशनको संस्थागत विकासका लागि आवश्यक सद्भाव र सहयोग सरकारका तर्फबाट रहने बताएका छन्।

साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरेले संस्था भाषा र साहित्यको सम्वर्द्धनका लागि निरन्तर क्रियाशील रहेको जानकारी दिएका छन्। उनले राज्यबाट नियमित बजेट व्यवस्था हुनुपर्ने आवश्यकता पनि औंल्याए।

कार्यक्रमका संयोजक प्रा.डा. ध्रुव घिमिरेले बौद्धिक विकासले मात्र समृद्धिको आधार सिर्जना गर्ने भन्दै साझा प्रकाशनको उन्नयनमा साझा प्रयास आवश्यक रहेको बताए।

कार्यक्रममा अध्यक्ष शेखर गिरीसहित प्रा.डा. अभि सुवेदी, गंगाप्रसाद उप्रेती, डा. तुलसी भट्टराई, मातृका पोखरेललगायतले धारणा राखेका थिए।

प्रदर्शनीमा साझा प्रकाशन तथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नयाँ तथा पुराना पुस्तकहरू छुट मूल्यमा बिक्रीमा राखिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ८ : १६ बजे