काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो चार महिनामा देशको आयात तथा निर्यात दुवैमा उल्लेखनीय वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।विभागका अनुसार यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँको तुलनामा १८ प्रतिशतले बढी हो।निर्यात भने झनै उच्च दरमा वृद्धि भएको छ। चार महिनामा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ। यो रकम गत वर्षको सोही अवधिका ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँको तुलनामा ७७.५१ प्रतिशतले बढी हो।आयात–निर्यात दुवै बढे पनि व्यापार घाटा भने थप विस्तार भएको छ। गत वर्ष कात्तिकसम्म चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ रहेको व्यापार घाटा यस वर्षको सोही अवधिमा बढेर पाँच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख पुगेको छ, जुन ११.९९ प्रतिशत वृद्धि हो।भटमासको तेल र सूर्यमुखी तेलको निर्यात बढ्नुले समग्र निर्यात वृद्धि भएको विभागले उल्लेख गरेको छ। चार महिनामा भटमासको तेल मात्र ३८ अर्ब ४३ करोड रुपैयाँ र सूर्यमुखी तेल दुई अर्ब ७३ करोड २८ लाख रुपैयाँ निर्यात भएको छ। यी दुवै वस्तु अन्य मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर मुख्यतः भारततर्फ निर्यात गरिएको देखिन्छ।यही अवधिमा अलैचीको निर्यात पनि उल्लेख्य रहेको छ। विभागका अनुसार तीन अर्ब ९७ करोड ४३ लाख रुपैयाँको अलैची भारततर्फ निर्यात भएको छ।
७ मंसिर २०८२, आइतबार
23
Shares








प्रतिक्रिया