काठमाडौं । देशभर जारी लगातारको भारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक आइतबार बसेको छ । बैठकले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आठ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ ।
असोज १७ देखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसबाट भएका जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
प्रतिकार्य कमाण्ड पोष्ट बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।
मनसुनजन्य विपद्बाट प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत र पुनस्र्थापनाका कार्यलाई निरन्तरता दिने निर्णयसँगै प्रारम्भिक क्षति विवरण संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन समेत सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ ।
सडक, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिइएको छ । यस्तै, जोखिमयुक्त सडकमा रात्रीकालीन बस सेवा तत्काल बन्द गर्न र अत्यावश्यक सेवाका सवारी साधनको आवागमन स्थानीय प्रशासनको सिफारिसमा सञ्चालन गर्न सकिने निर्णय गरिएको छ । बैठकले विपद् व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वयंसेवक, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा जनसमुदायप्रति आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया