Logo

Breaking News 1

बगमती र लाल बकैया नदीमा आएको बाढीले जनजीवन प्रभावित



रौतहट । निरन्तरको अविरल बर्षासँगै रौतहटका दुई मुख्य नदी बगमती र लाल बकैया खतराको सतहमा पुगेको छ । बागमती नदीको बहाव ४५०० क्युसेक पुगेको छ । बागमती सिँचाइ ड्यामका ३६ वटै ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ ।

बागमती नदीका किनारमा तथा वरिपरि रहेका गाउँ घरमा बस्नेहरु उच्च सतर्कता अपनाउनु पनि प्रहरीले अनुरोध गरेको छ ।
यता, मौलापुर नगरपालिका–१ मर्यादपुर नजिक लालबकैया नदीको बाँध कटान गरेको छ । बाँध कटान भएसँगै त्यस क्षेत्रका स्थानीयले जोखिम बढेको बताएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार गौर बजार जलमग्न भएको छ ।

प्रायः सरकारी कार्यलय डुबानमा छन भने सडकमा हिड्न सक्ने अवस्था नरहेको उनले बताए । यस क्षेत्रका मुख्य नदी पूर्वी भागमा बागमती र लालबकैयाले जलसतह पार गरेकाले नदी किनारका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको रौतहट प्रशासनले जानकारी दिएको छ ।

अविरल बर्षासँगैको हावाहुरीले चन्द्रपुर नगरपालिका वडा न २ मा पर्ने चन्द्रनिगाहपुर–बाग्मती खण्डमा रुख ढलेर अवरुद्ध बनेको यातायात सञ्चालनमा आएको छ । सुरक्षाकर्मीले रुख पन्छाएपछि गाडी चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ५८ बजे