काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ ।
गत मे ३–४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५–२७ कार्यकालका लागि निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न लागि वार्ता सुरु गरेको हो ।
राजेन्द्रकुमार (आरके)शर्माको संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई पूर्णता दिइए लगत्तै वार्ता प्रक्रिया सुरु भएको हो ।
समितिको सदस्यमा जानकी गुरुङ, सुनील शाह, नारायण आचार्य र शनि ओली रहेका छन् । समितिको पहिलो बैठकले एकताको प्रयासलाई सार्थकता प्रदान गर्नका लागि संस्थाका पूर्व अध्यक्षहरू, राष्ट्रिय समन्वय परिषद् (एनसीसी)अध्यक्षहरूका साथै सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ ।
पहिलो बैठकमा आमन्त्रितको रूपमा सहभागी अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर)लामाले वार्ताबाट संस्थागत एकता कायम गर्नका लागि हर सम्भव आग्रह गरेका थिए । समितिले गर्ने निर्णय मान्य हुने गरी काम गर्न पनि अध्यक्ष र महासचिवले समितिलाई प्रस्ट पारेका थिए ।
सर्वोच्च अदालतको एक फैसला अनुसार बद्री केसी पक्षले आफ्नो कार्यकाल अक्टोबर १४, २०२५ सम्म हुने दाबी गर्दै आएको छ भने त्यसपछि उक्त कार्यसमिति स्वतः भङ्ग हुने छ ।
प्रतिक्रिया