Logo

अर्थ

संविधान पुनर्लेखन र अन्तरिम सरकार गठनको माग



काठमाडौं । हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नगरी पुनर्लेखन गर्नुपर्ने तथा संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग राखेका छन्। उनले संविधान आवश्यक भए पनि संशोधन र पुनर्लेखन गर्नुपर्ने अवस्था आएको दाबी गरे।

गुरुङका अनुसार संविधान खारेज गर्दा विदेशी हस्तक्षेपको जोखिम रहने भएकाले सो मार्ग नअपनाई पुनर्लेखनमार्फत सुधार गर्न सकिनेछ।

यसैबीच नेपाल चेम्बर अफ कमर्सले देशभर भइरहेको आन्दोलनमा जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका नागरिकलाई श्रद्धाञ्जली अर्पण गरेको छ। चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

चेम्बरले आन्दोलनका कारण औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुगेको बताउँदै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता आवश्यक रहेको उल्लेख गरेको छ। भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा सहज पहुँचजस्ता जेन–जीले उठाएका मुद्दालाई गम्भीरतापूर्वक लिन सबै सरोकारवालालाई आग्रह गरेको छ।

चेम्बरका अनुसार आन्दोलनका क्रममा भएको क्षतिले औद्योगिक तथा व्यावसायिक वातावरण खलबल्याई लगानीमैत्री वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले सबै पक्ष संयमित भएर दीर्घकालीन समाधानको खोजीमा लाग्नुपर्नेछ।

चेम्बरले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार र जेन–जी पुस्ताका युवाबीच संवाद र रचनात्मक सहकार्यमार्फत स्थायी समाधान निकाल्न आह्वान गरेको छ

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ७ : ३९ बजे