काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ ।
मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन् । आन्तरिक उत्पादनले नै तिहारको माग धान्न पर्याप्त हुने उनको भनाइ छ ।
तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र गुणस्तरीय बनाउन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राविधिक कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
पर्व अवधिको विद्युत् आपूर्ति व्यवस्थापनबारे कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकमा विद्युत् प्रणाली सञ्चालन, आपूर्ति व्यवस्थापन र सम्भावित प्राविधिक चुनौती समाधानका विषयमा छलफल भएको थियो ।
त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी आपूर्ति व्यवस्थापन र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन सम्बन्धित कार्यालयलाई आवश्यक तयारी पूरा गर्न निर्देशन दिएका छन् । प्रसारण लाइन तथा वितरण प्रणालीमा बाँकी रहेका निरीक्षण र मर्मतसम्भारका काम तत्काल सम्पन्न गर्न पनि उनले निर्देशन दिएका छन् ।
विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोली तयारी अवस्थामा राखिनेछ । त्यस्तै, विद्युत् सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ ।
पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड सञ्चालन विभाग तथा वितरण केन्द्रबीच निरन्तर समन्वय र अनुगमन गरिने प्राधिकरणले जनाएको छ । यसैबीच, प्राधिकरणले तिहार तथा छठका अवसरमा विद्युतीय उपकरण र तार सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैं मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ । विद्युत् आपूर्तिसम्बन्धी समस्या आए नजिकको वितरण केन्द्र वा नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।








प्रतिक्रिया