Logo

Breaking News 1

‘जनै पूर्णिमालगायत पर्वले विविधताभित्रको सामाजिक मिलनको सन्देश प्रवाह गर्छ’



‘जनै पूर्णिमालगायत पर्वले विविधताभित्रको सामाजिक मिलनको सन्देश प्रवाह गर्छ’ काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जनैपूर्णमा जस्ता पर्वहरू द्रुत गतिमा बदलिँदो आजको जीवनशैली र डिजिटल युगमा आत्मीयता, सांस्कृतिक महत्व तथा भावनात्मक पुनःस्थापनामा सकारात्मक प्रभाव पारिरहेको बताएका छन् ।

शनिबार श्रावण पूर्णिमा तिथिमा मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) तथा गुँःपुन्हिको पावन अवसरमा शुभकामना दिँदै उनले नेपालमा मनाइने जनैपूर्णिमालगायत विभिन्न पर्वले विविधताभित्रको एकता, लैङ्गिक समानता र सामाजिक मिलनको सन्देश प्रवाह गर्दै आएको विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘नेपालमा परापूर्वकालदेखि मनाइँदै आएका जनैपूर्णमाजस्ता पर्वहरू द्रुत गतिमा बदलिँदो आजको जीवनशैली र डिजिटल युगमा आत्मीयता, सांस्कृतिक महत्व तथा भावनात्मक पुनःस्थापनामा सकारात्मक प्रभाव पारिरहेको विश्वास लिएको छु ।विविध सांस्कृतिक परम्परामा धनी हाम्रो देश र समाजमा एकै तिथिमा विभिन्न नामले मनाइने रक्षाबन्धन, जनैपूर्णिमा तथा गुँःपुन्हि पर्वले आपसी प्रेम, सम्मान, एकता, सौहार्दता र सहयोगको सन्देश फैलाउँदै आएका छन् । भूगोल, जाति, समुदाय र क्षेत्रगत विविधतायुक्त यी मौलिक पर्वहरू रैथाने संस्कृति तथा परम्पराबाट समृद्ध छन्, जुन हाम्रो साझा पहिचान र राष्ट्रिय गौरवका प्रतीक पनि हुन् ।’

तराई–मधेसमा मधेसीलगायतको समुदायका दिदीबहिनीले रक्षाबन्धनको अवसरमा दाजुभाइलाई राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्नकासाथै दाजुभाइले दिदीबहिनीप्रति समर्पण र संरक्षणको भाव प्रकट गर्ने परम्परा रहिआएको बताउँदै उनले यसले पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउने उनको भनाई छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ११ : २७ बजे