काठमाडौं । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राती ११ः०० बजे सिंगापुर प्रस्थान गरेका छन् । प्रतियोगितमा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन् । पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।
व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की रहेका छन् । जुलाइ ११ देखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाइ २७ तारिखदेखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जनाएका छन् ।
जुलाइ २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले १ सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले २ सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २ सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ । जुलाइ ३० मा इर्भिनले १ सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले १ सय मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । टोली अगष्ट ४ तारिखमा स्वदेश फर्किने छ ।
टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न सुझाए ।
अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीबाट कम्तीमा २ राष्ट्रिय कीर्तिमानको अपेक्षा गरेको बताउदै पौडीको विकास र विस्तारमा अभिभावकले पु¥याएको योगदानको प्रशंसा गरे । मुख्य प्रशिक्षक कार्कीले प्रतियोगिताले २० औं एसियाली खेलकुदको तयारीमा पनि मद्दत पुग्ने बताउदै खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया