विराटनगर । कोशी प्रदेशसभाको सातौँ तथा बर्खे अधिवेशन आज आइतबारबाट सुरु हुँदै छ । प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् ।
बजेट अधिवेशन समेत भनिने यो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा प्रस्तुत गरिनेछ । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन् । बैठकमा प्रदेश सरकारले ल्याएको ‘प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ पनि टेबुल गरिने तयारी छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार आगामी आर्थिक वर्षमा सरकारको पर्यटन वर्ष तथा लगानी सम्मेलनलाई केन्द्रमा राखेर नीति कार्यक्रम र बजेट प्रस्तुत हुने तयारी रहेको छ । ‘पर्यटन वर्षलाई प्राथमिकतामा राख्ने नै भयौँ । त्यसका साथै निजी लगानीलाई समेत आकर्षित गर्ने कार्यक्रम पनि समावेश गर्नुपर्ने हुन्छ ।’ उनले भने ।
प्रदेश सरकारले आफ्नो क्षमता अनुसारका बहुवर्षिय योजना सञ्चालन गर्नुका साथै, कृषि क्षेत्रको व्यवसायीकरणको कार्यक्रमलाई समेत प्राथमिकीकरण गर्ने उनको भनाई छ । उनले थपे,‘भौतिक विकास र औद्योगिक विकासका सन्दर्भमा पनि नीति कार्यक्रममा प्राथमिकतामा पर्ने कुरालाई हामी छलफलका साथ प्रस्तुत गर्छौँ ।’
नीति र कार्यक्रम पछि खासगरी प्रदेशको प्रजेट असार १ गते प्रदेश सभामा पेस गरिन्छ । हाल कोशी प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा सरकार रहेको छ भने सरकारमा नेपाली काङ्ग्रेससमेत सहभागी छ ।
प्रतिक्रिया