रामेछाप । जिल्लाको मन्थली–गेलु सडकको बफर खोला क्षेत्रमा भइरहेको निर्माण कार्यमा स्थानीय र निर्माण कम्पनीबीच विवाद भएको छ ।
नागबेली कन्स्ट्रक्सनले पूर्वाधार कार्यालय मार्फत निर्माण सुरु गरेको सो सडकमा खोला मिचेर सडक बनाएको तथा एआई र स्थानीय तहसँग कुनै समन्वय नगरी खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
सो कम्पनीले उक्त सडक क्षेत्रमा फाउण्डेसन निर्माण सहित २ सय ४५ मिटर सडक ढलानको ठेक्का लिएको छ । मझुवा र सो खण्डमा गरी १ करोड २५ लाख रुपैँयामा काम लिएको कम्पनीका प्रमुख वीरबहादुर बरुवाल बताउँछन् ।
खोला थुनेर सडक बनाएको कारण खोलामा बाढी आउने बित्तिकै खेत बगाउने स्थानीय रेनुका श्रेष्ठ बताउँछिन् । सडक बनाउँदा खेतलाई पनि सुरक्षा हुने गरी पर्खाल लगाउनु पर्ने उनको माग छ ।
खोला चेपेर रोड बनाई खेत पट्टी खोला लगाइदिँदा आफ्नो खेत कटान हुने अवस्थामा पुगेको स्थानीय सुनिल माझी बताउँछन् । ‘खेत बगाउने गरी सडक बनाइनु त भएन नि, त्यस माथि आलीका ढुङ्गासम्म ल्याएर रोड बनाएपछि खेत बस्दैन, कुलो हो कि खोला हो भन्ने छुट्टाउनै गाह्रो भएको छ’, माझीले भने ।
उता निर्माण व्यवसायी वीरबहादुर बरुवाल आफूले स्टमेट अनुसार नै काम गरेको बताउँछन् । फाउण्डेसन बनाउँदा आएका स्थानीय सामाग्री मात्र आफूले प्रयोग गरेको उनले दाबी गरे ।
मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ निर्माण व्यवसायीले समन्वय नै नगरी काम गर्दा समस्या आएको बताउँछन् । निर्माण व्यवसायीले कानुन विपरित खनिजजन्य सामाग्री प्रयोग गरेको उनको भनाइ छ । उनले कामको गुणस्तरमा समेत प्रश्न उठाए ।
प्रतिक्रिया