Logo

खेलकुद

रुपेश जैसवालले कोप चेस उपाधि जिते


२६ बैशाख २०८२, शुक्रबार  

92
Shares

ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस  प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् ।

प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा रुपेशले नौ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल भएका छन् ।

यससँगै रुपेशले नगद १० लाख बराबरको आवधिक जीवन बिमा तथा नगद रु.४० हजार, ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र हात पारेका छन् ।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा दुई दिन सम्पन्न स्पर्धामा समान ८ अंक जोडेका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै दोश्रो स्थानमा रहन सफल भएका छन् ।

एफएम क्षितिजले ७ लाख बराबरको आवधिक बिमा सहित नगद पुरस्कार रु. २५ हजार, शिल्भर मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

यस्तै, अन्य आठ जना खेलाडीले समान ७ अंक जोडेर शीर्ष दशौं स्थान ओगटेका छन्। जसमा सिएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर तेश्रो स्थान प्राप्त गरेका छन् ।

सिएम पुरुषोत्तम सिलवालले ५ लाख बराबरको जीवन बिमा र नगद पुरस्कार रु. १५ हजार ब्रञ्ज मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रकाशचन्द्र नेपाल, आशिष् फूँयाल, भारतका आशुतोष कुमार यादव, हर्कबहादुर चोङ्वनङ, धिरेन राई, अशोक मोहन श्रेष्ठ र शैलेन्द्र न्यौपाने क्रमशः चौथो देखि दशौं स्थानमा रहँदै नगद पुरस्कार प्राप्त गरेका छन् । 

यसैगरी महिला विधा तर्फ ५.५ अंकमा शान्ति धिमालले उत्कृष्ट बन्दै प्रथम पुरस्कार नगद रु. ७ हजार प्राप्त गरेकी छिन् । यस्तै ५ अंक जोडेकी बिनिता कपालीले दोश्रो बन्दै नगद रु. ६ हजार र सिन्दिरा जोशीले तृतीय हुँदै नगद रु. ५ हजार प्राप्त गरेकी छिन् ।

क्रमशः उत्कृष्ट नव प्रवेश खेलाडी स्पर्श अर्याल, सिनियर खेलाडी बद्रीलाल नेपाली, १८ सय रेटिङ मुनि सुरज सिंह, १६ सय मुनि उज्वल दहाल, युवा १६ वर्ष सुभनदीप थापा, युवा १४ हार्दिक पन्त, उत्कृष्ट बिमा गोविन्द नेपाल र उत्कृष्ट सहकारी रामशरण तिमल्सिनाले नगद पुरस्कार जिते ।

कार्यक्रममा भेट्रान चेस खेलाडी सिताराम अग्रवाल, फोटोग्राफर देवु राजवंशी, ग्राफिक डिजाइनर विश्वराज सापकोटा, गुल्मीजी र हरिश्यामलाई सम्मान प्रदान गरिएको छ ।

यसैबीच विजेता खेलाडीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पुरस्कार वितरण गरेका छन् ।

समापन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष श्रीमती ओमदेवी मल्ल, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महाप्रबन्धक सुरेश थापाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : ४९ बजे