Logo

समाचार

बर्षौदेखि ‘कालापहाड’ : न प्रगती, न मनमा सन्तुष्टि



सुर्खेत । कालिकोट नरहरीनाथ–३ का गणेश न्यौपाने हरेक बर्ष दशैंमा मात्र घर आउँछन् । दशैं सकिने बित्तिकै उनी आफ्नो ड्युटीमा फर्किने दिनको तय हुन्छ । एक महिना पनि घरमा आफन्त र साथीहरुसंग रमाउन नपाउँदै उनी झोला बोकेर भारत लाग्छन् । भारतको बैङलोरमा उनले मजदुरी गर्न थालेको एक दशक बित्न थाल्यो उनको दैनिकी फेरिएको छैन । सुरुमा एक्लै बेङ्लोर बसेका उनले केही बर्षपछि श्रीमतीलाई पनि संगै लिएर काम गरिरहेका छन् । बेङलोरको कमाईले उनले छोराछोरी पढाउने र घरको खर्च धान्ने गरिरहेका छन् ।

दैलेखको गुराँस गाउँपालिका–६ का आइते नेपालीले २० वर्षदेखि भारतमै मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । बर्षौदेखि भारतमा काम गर्दै आएका उनको कमाइले न त घर व्यवहार राम्ररी चलेको छ त त उनी सन्तुष्ट नै छन् । दैलेख आठबीस नगरपालिकाका देउराम नेपाली उमेरले ५० बर्ष पुग्न लाग्दा उनको कमाउने र परिवार पाल्ने माध्यम बनेको छ भारतकै मजदुरी ।

धेरै समय भारतको नैनितालमा मजदुरी गर्ने देउराम नैनितालमा मिस्त्री भनेर नेपालीमाझ चिनिन्छन् । उनले पर्खाल लगाउने काम गर्दै आएका छन् तर कहिलेकाहीं काम नपाउँदा निर्माण सामग्री ओसारपसार पनि गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । आफ्नो खेतबारीको उब्जनीले ६ महिना पनि खान नपुग्ने भएपछि भारत जानुको विकल्प नभएको उनको अनुभव छ । ‘गाउँमा कमाउने केही माध्यम छैन’ उनले भने, ‘पाँच जनाको परिवार पाल्न उनीहरुलाई पढाउन पनि भारत नगइ हुँदैन ।’

कालिकोटका गणेश, दैलेखका आइते र देउराम त प्रतिनिधी पात्र हुन् । कर्णालीका अधिकांशको रोजगार गन्तव्य भारतका विभिन्न स्थानहरु नै हुने गरेका छन् । सुरुमा भारतको नैनितालमा मजदुरी गरेका कालिकोटका गणेश न्यौपानेले पछिल्लो एक दशकदेखि बेङ्लोरमा बस्न थालेको बताए । ‘सुरुमा त विभिन्न ठाएँहरु चहार्नुप¥यो’ उनले भने, ‘पछिल्लो १० बर्षदेखि बेङ्लोमा श्रीमतीसहित बस्दै आएको छु ।’

उनले अन्य स्थानको भन्दा बेङ्लोरमा काम पाइने भएकाले त्यहा धेरै नेपालीहरु आउने गरेको बताए । काम गर्न सहज हुने र महिलाहरुले पनि घरायसी काम पाउने भएकाले नेपालीहरुको गन्तव्य बेङ्लोर बनेको उनको भनाई छ । ‘धेरै नेपालीहरु बस्ने भएकोले बेङ्लोरमा नेपालमै बसेको जस्तो लाग्छ’ उनले भने । सुरुमा एक्लै काम गरेका गणेशले पाँ बर्षयता श्रीमतीलाई पनि संगै लिएपछि केही कमाई जोगाउन सकेको उनले बताए ।

‘एक जनाको कमाईले घरखर्च धान्न र दुई छोरालाई स्कूल पढाउन पनि समस्या थियो’ बेङ्लोरमा रहेका उनले टेलिफोनमा भने, ‘अहिले श्रीमती पनि काममा लागेपछि मेरो कमाई बचाउने गरेको छु ।’ पछिल्लो दुई बर्षमा केही पैसा जम्मा गरेको उनले बताए ।

रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा धाउन थालेका दैलेखका देवीलालको रोजीरोटीको दौडाइ अहिलेसम्म चलिरहेको छ । ‘कमाइका लागि गाउँका सबै जाने भारतमै जाने हो भनेर उतिबेला पढाइ पनि बिग्रियो’ उनले भने, ‘साथीहरुकै लहलहैमा लागेर भारत जान थालेँ । अहिले भारतमै निर्भर हुनु परेको छ ।’ भारतको कमाइले घरखर्च धान्नबाहेक अरु केही प्रगती गर्न नसकेको देवीलालको भनाइ छ ।

न फेरियो दैनिकी, न बदलियो जिन्दगी

कर्णालीमा भारतको पर्यायवाची बन्ने गरेको छ ‘कालापहाड’ । भारतको जुनसुकै स्थानमा गएर काम गर्नेहरुका लागि पनि ‘कालापहाड’ गएको भन्ने अथ्र्याइन्छ । कर्णालीका अधिकांशको रोजगार गन्तव्य हो भारत । भारतमा गरेको मजदुरीले उनीहरु घरको गर्जो टार्छन् । यहाँका कतिपय परिवार यस्ता पनि छन्, जसलाई वर्षमा दुईचोटी भारतमा मजदुरी नगरे भोकै बस्नुपर्ने बाध्यता छ ।

बारीको उब्जनीले खान नपुग्ने भएपछि दैनिक गुजारा गर्न पनि यहाँका नागरिकहरु भारत गएर मजदुरी गर्न बाध्य छन् । कोही भारतका सिमाना नजिकका सहरमा गएर दुइतीन महिनामै फर्किन्छन् भने कोही बर्षौसम्म पनि घरको माया मारेर कमाउन तम्सिन्छन् । तर जति गरेपछि उनीहरुले दैनिकी पनि नफेरिएको र जिन्दगी पनि बदल्न नसकेको रुपमा लिएका छन् ।

कालिकोट नरहरीनाथ–३ का रमेश उपाध्याय १५ बर्ष भारतका विभिन्न ठाउँमा बसेर मजदुरी गरे भारतको कमाइले उनको परिवारका लागि जेनतेन गाँस र कपासको जोहो त ग¥यो तर बास र आर्थिक समृद्धिमा कुनै हलचल ल्याएन । पाँच बर्ष अघि गाउँमै फर्किएर होटल व्यवसाय गरी बसेका छन् । कतिपय समयमा श्रीमती लिएर भारत गएका उनले १५ बर्षसम्म पनि केही उपलब्धी नभएपछि गाउँमै फर्किएको बताए ।

‘भारतका विभिन्न सहरमा बसेर केही उपलब्ध भएन’ उनले भने, ‘जे गरे पनि गाउँमै गर्छु भनेर पाँच बर्ष अघि गाउँमै आएर होटल चलाएको छु ।’ उनले भारत बसाइँले आफ्नो जिन्दगी फेर्न नसकेकोमा पछुतो लागेको सुनाए ।

कमाउन भारत गएका अधिकांशको वास्तविकता रमेशको जस्तै हो । दिनभरी काममा खटिदा पनि घर खर्च धान्न र दैनिक चलाउन नै समस्या हुने उनीहरुको अनुभव छ । सुर्खेतको चौकुने गाउँपालिका–२ का ध्रुव खनाल भारतको हल्द्धानी बस्न थालेको १२ बर्ष भयो । अवधीमा उनले सामान्य घरखर्च बाहेक अरु प्रगती गर्न नसकेको बताए । दैनिक १६ देखि १८ घण्टा काम गर्दा पनि अपेक्षाकृत कमाई नहुने उनको भनाइ छ ।

‘नियमित कुनै काममा लागेकाहरुले मासिक रुपमा तलव पाउने हुन् त्यो पनि बहुत कम हुन्छ’ उनले भने, ‘दैनिक ज्यालादारीमा काम पाउनै मुस्किल हुन्छ पाएपनि एक दिनको कामले तीन दिन पु¥याउनुपर्दा बचत नै हुँदैन ।’ जति कमाए पनि खाली हात घर फर्कनु पर्ने बाध्यता भारतमा रहेका नेपालीहरुको रहेको उनले बताए ।

कर्णालीका ८६ प्रतिशतको रोजगार गन्तव्य भारत

बेरोजगार र विपन्नका लागि कर्णाली प्रदेश सरकारले मुख्यन्त्री तथा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेका छन् । ती ति कार्यक्रमले भारतमा मजदुरी गर्ने कार्यक्रमले छुन सकेका छैनन् । राष्ट्रिय जनगणना–२०७८ को अनुसार १६ लाख ८८ हजार ४१२ जनसंख्या रहेको कर्णालीमा झन्डै ४६ प्रतिशत बेरोजगार छन् । जसमध्ये ५ लाख १४ हजार ८ सय १८ जना वैदेशिक रोजगारीमा गएको कर्णाली प्रदेश योजना आयोगको तथ्याङ्क छ । जसमा झन्डै ८६ प्रतिशत अर्थात् ४ लाख ४२ हजार ७ सय ४३ जना भारतका विभिन्न ठाउँमा मजदुरी गर्छन् ।

श्रमशक्तिका लागि पर्याप्त उत्पादनशील तथा आयमूलक रोजगारीका अवसरहरू सिर्जना हुन नसक्दा श्रममा आप्रवासन प्रवृत्ति बढेको बेला कर्णाली निकै पछाडि परेको छ । समग्र नेपालबाटै वैदेशिक रोजगारीमा आकर्षण बढ्दै गएको र वैदेशिक रोजगारी तत्कालको लागि रोजगारीको विकल्पका रूपमा देखापरेको कर्णाली प्रदेश सरकारको निश्कर्ष छ ।

प्रदेशभित्र सुमधुर श्रम सम्बन्धको अभ्यासद्वारा लगानीमैत्री औद्योगिक वातावरण विकास गरी रोजगारीका लागि अवसरहरू सिर्जना गर्नु तथा आवश्यकता अनुसारको दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गरी माग र वितरणमा सन्तुलन कायम गर्नु कर्णालीका लागि आवश्यक रहेको सरकारले औंल्याएको छ ।

कर्णाली प्रदेश योजना आयोगको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशको गरिबीको रेखामुनी रहेको जनसंख्या २६.६९ प्रतिशत । यस्तै बहुआयामिक गरिबी ३९.५ प्रतिशत रहेको छ । उल्लेखित तथ्यांकले कर्णाली प्रदेश शिक्षा, स्वास्थ्य, आर्थिक क्षमता, खानेपानी, आवास, सरसफाइ, विद्युत जस्ता आधारभूत सुविधाहरूको उपलब्धता र पहुँचको दृष्टिकोणबाट ज्यादै पिछडिएको देखिएको छ । गरिबी र विपन्नताका कारण यस प्रदेशका नागरिकहरू रोजगारीका लागि भारतकै भरपर्नुपर्ने बाध्यता छ ।

छैन् तथ्याङ्क

संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२४ अनुसार कर्णाली प्रदेशमा दुई वर्षको अवधिमा ४३ हजारभन्दा बढी महिला तथा पुरुषले श्रम स्वीकृति लिएका छन् । यो अवधीमा कर्णालीमा २४ हजार ९७४ जना पुरुष र १८ हजार ६६२ जना महिला गरी कुल ४३ हजार ६३६ जनाले श्रम स्वीकृति लिएको बताइएको छ ।

भारत जाने श्रमिकलाई श्रम स्वीकृति लिन नपर्ने भएकाले कर्णालीबाट काम गर्न बाहिर जाने श्रमिकको संख्या कम देखिएको छ । कर्णाली प्रदेशबाट विशेष गरी नजिकको स्थान भएकाले भारततिर श्रम रोजगार गर्न बढी जाने गरेका छन् भने भारत जानेहरूको यकिन तथ्याङ्क पनि कुनै निकायसँग छैन ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १२ : १६ बजे