Logo

समाचार

रौतहटमा नक्कली पेस्तोल देखाई लुटपाट गर्न खोज्ने एक युवक पक्राउ


२५ बैशाख २०८३, शुक्रबार  

0
Shares

रौतहट । रौतहटको सदरमुकाम गौरमा नक्कली पेस्तोल (खेलौना) देखाएर सर्वसाधारणलाई त्रसित बनाउँदै लुटपाटको प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, वैशाख २३ गते राती करिब ९ः३० बजे गौर नगरपालिका वडा नं. ५ स्थित बि.पि. चोकमा सडकमा हिँड्डुल गरिरहेका व्यक्तिहरूलाई पेस्तोल देखाई पैसा लुट्न खोज्ने परोहा नगरपालिका वडा नं. ४ निवासी २० वर्षीय शेख जवेरलाई पक्राउ गरिएको हो ।
मादक पदार्थ सेवन गरेका निज जवेरले हातमा बोकेको वस्तु वास्तविक पेस्तोल नभई खेलौना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले सोही खेलौना पेस्तोल देखाई बाटो हिँड्ने मानिसहरूलाई डर र त्रास देखाइरहेको सूचना पाएलगत्तै प्रहरी टोली खटिएर उनलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका जवेरमाथि थप अनुसन्धान कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले यस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ४ : ४७ बजे