Logo

Breaking News 1

साहित्यमा जेनजी पुस्ताको प्रवेश : न्यूटन आचार्यको रोचक यात्रा



हजुरबुबाले मलाई कविता मात्र सुनाउनुभएन, आफ्नो समयको पीडा र इतिहास पनि सुनाउनुभयो । पछिल्लो पुस्ताले त्यस्ता दुःख नदेखोस् भन्ने चाहनाले उहाँले ती शब्दहरू रोपेर जानुभयो ।
न्यूटन आचार्य
युवा साहित्यकार



काठमाडौं । साहित्य केवल शब्दहरूको संयोजन मात्र होइन, त्यो अनुभव, संघर्ष, पीडा, सपना र समाजसँगको गहिरो सम्बन्धको अभिव्यक्ति पनि हो । यही भावलाई आत्मसात् गर्दै युवा साहित्यकार न्यूटन आचार्यले आफ्नो पहिलो उपन्यास ‘पर्वतनन्दिनी’ सार्वजनिक गरेका छन् ।

शनिबार उक्त पुस्तक विमोचनपछि उनले दिएको आत्मीय र भावुक सम्बोधनले उपस्थित सबैलाई गहिरो रूपमा छोएको थियो । उनका शब्दहरूमा साहित्यप्रतिको निष्ठा, परिवारबाट पाएको प्रेरणा, स्वास्थ्यसँगको संघर्ष, गुरुहरूप्रतिको सम्मान र समाजप्रतिको उत्तरदायित्व स्पष्ट झल्किन्थ्यो।

कार्यक्रमको सुरुवातमै उनले प्रमुख अतिथि तथा कार्यक्रममा उपस्थित अग्रज व्यक्तित्वहरूप्रति सम्मान व्यक्त गरे । विशेषगरी प्रमुख अतिथिको रूपमा उपस्थित डा.नवराज लम्सालप्रति उनले गहिरो आदर प्रकट गर्दै आफूले सधैं प्रेरणाका रूपमा हेरेको व्यक्तित्वसँग एउटै मञ्चमा बस्न पाउनु जीवनकै विशेष क्षण भएको बताए ।

उनले आफ्ना माता–पिता पनि आफ्ना लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै जीवनमा पहिलोपटक उहाँहरूसँग बसेर साहित्यिक साक्षात्कार गर्न पाउँदा गर्व लागेको बताए। नवयुवा अर्थात जेनजी पुस्ताका न्यूटन आचार्यले आफूले ‘पर्वतनन्दिनी’ उपन्यास १९ वर्षको उमेरमै लेख्न सुरु गरेको बताए । त्यस समय उनी त्रिचन्द्र बहुमुखी क्याम्पसमा भूगर्भशास्त्र अध्ययन गरिरहेका थिए ।

अध्ययनकै क्रममा उनको भेट प्रसिद्ध भूगर्भशास्त्री कल्याणराज भट्टराईसँग भयो । आचार्यका अनुसार भट्टराईले ढुंगाको इतिहास, प्रकृतिको कथा र पृथ्वीभित्र लुकेका संघर्षहरू बुझ्न सिकाए । त्यही क्रममा उनले समाजभित्रका पीडा, अन्याय र मानवीय संघर्षलाई पनि ‘कोट्याउन’ थाले र त्यसैको परिणामस्वरूप ‘पर्वतनन्दिनी’ जन्मिएको हो ।

उनले आफ्नो सम्बोधनमा साहित्यप्रतिको रुचि कसरी जाग्यो भन्ने प्रसंग पनि सुनाए । उनका ९४ वर्षीय हजुरबुवा सुदर्शन आचार्यले बाल्यकालमा उनलाई रामायणका श्लोक, गाउँका कथा र आफ्नै सिर्जना सुनाउने गर्दथे । ती शब्दहरूले बालमनमा गहिरो प्रभाव पारेको उनले बताए।

विशेषगरी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको भूसिपा क्षेत्रमा असिना र पानीले पु¥याएको विनाशलाई समेटेर हजुरबुवाले लेखेको एउटा कविता उनले कार्यक्रममा सुनाए । त्यो कविता सुनाउँदा उनी केही क्षण भावुक बनेका थिए ।
उनले भने, ‘उहाँले मलाई कविता मात्र सुनाउनुभएन, आफ्नो समयको पीडा र इतिहास पनि सुनाउनुभयो । पछिल्लो पुस्ताले त्यस्ता दुःख नदेखोस् भन्ने चाहनाले उहाँले ती शब्दहरू म मा रोप्नुभयो ।’

यही पारिवारिक संस्कारले आफूलाई साहित्यतर्फ आकर्षित गरेको उनको भनाइ थियो । आचार्यले आफ्नो साहित्यिक यात्रामा विभिन्न व्यक्तित्वहरूको ठूलो योगदान रहेको उल्लेख गरे । वरिष्ठ साहित्यकार त्रिलोचन आचार्यको जीवनशैली र सिर्जनाबाट आफूले धेरै सिकेको उनले बताए ।

सुनगाभा साहित्य समाजमार्फत विभिन्न कृति पढ्ने, बुझ्ने र आफ्ना अनुभूतिहरूलाई शब्दमा उतार्ने क्रममा आफू अहिलेको अवस्थासम्म आइपुगेको उनले सुनाए । सम्बोधनका क्रममा उनले आफ्नो स्वास्थ्य संघर्षबारे पनि सुनाए । उपन्यासको अन्तिम चरणमा पुगेका बेला आफू माइग्रेन र मानसिक समस्याबाट प्रभावित भएको उनले बताए ।

उनले भने,‘उपन्यासको बिट मार्ने बेलामा मलाई माइग्रेनको समसस्या भयो । त्यसले लेखन कार्य लामो समय रोकिएको थियो। लाग्थ्यो उपन्यास सायद पूरा गर्न सक्दिनँ । तर चिकित्सकीय हौसला र आत्मबलले फेरि उभिन सकें ।’ उनले कार्यक्रममा उपस्थित शिक्षकहरूलाई पनि विशेष सम्मान दिए । चण्डेश्वरी माध्यमिक विद्यालयका शिक्षकहरूले आफूलाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई जीवन बुझ्ने दृष्टि दिएको उनले बताए ।

आचार्यको सम्बोधनमा एउटा महत्त्वपूर्ण पक्ष थियो–साहित्यप्रतिको उनको दृष्टिकोण । उनले प्रमुख अतिथिबाट पाएको एउटा सुझावलाई विशेष रूपमा उल्लेख गरे । ‘सधैं शाश्वत कुरा लेख्नुहोस, हिट हुनका लागि नलेख्नुस्,’ भन्ने सुझावले आफूलाई गहिरो रूपमा छोएको उनले बताए । यही वाक्यलाई आगामी यसमा थप्दै उनले भने,‘म अब चर्चित हुनका लागि लेख्दिनँ, समाजका स्थायी पीडा, संघर्ष र मानवीय संवेदनालाई लेख्ने प्रयास गर्नेछु ।’ उनका शब्दहरूले वर्तमान समयको ‘भाइरल संस्कृति’ भन्दा पृथक् एउटा गम्भीर साहित्यिक सोचलाई प्रतिनिधित्व गरिरहेका थिए ।

कार्यक्रमको अन्त्यतिर आचार्य झन् भावुक देखिन्थे । उनले मञ्चमा रहेका व्यक्तित्वदेखि हलको पछाडिसम्म बसेका सबैलाई सम्झिए । आफ्ना साथीहरू, परिवार, गुरुहरू, स्थानीय जनप्रतिनिधि, साहित्यिक अग्रज र कार्यक्रम आयोजकहरूप्रति उनले सामूहिक धन्यवाद व्यक्त गरे ।

न्यूटन आचार्यको सम्बोधन केवल पुस्तक विमोचनको औपचारिक भाषण मात्र थिएन । त्यो एक युवा सर्जकको आत्मकथा जस्तै थियो, जहाँ गाउँको माटो थियो, परिवारको माया थियो, रोगसँगको संघर्ष थियो, गुरुहरूको आशीर्वाद थियो र समाजप्रतिको गहिरो जिम्मेवारी पनि थियो । ‘पर्वतनन्दिनी’ सँगै नेपाली साहित्यमा एउटा नयाँ पुस्ताको संवेदनशील आवाज प्रवेश समेत भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ६ : ३९ बजे