Logo

समाचार

पूर्व मिस नेपाल उषा खड्गीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोप, अख्तियारमा उजुरी



काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

प्राप्त विवरणअनुसार आयोगमा दर्ता नम्बर सी–०६३६९२/२०८३–०१–२८ अन्तर्गत उजुरी परेको हो। उजुरीमा भारतको उत्तर प्रदेशस्थित “बोर्ड अफ हाई स्कूल एण्ड इण्टरमिडिएट एजुकेशन” को नाममा तयार गरिएको कक्षा १० को शैक्षिक प्रमाणपत्र प्रयोग गरिएको दाबी गरिएको छ।

उजुरीपत्रमा खड्गीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी विभिन्न निकायमा कागजात पेश गरेको तथा त्यसका आधारमा अवसर र मान्यता हासिल गरेको आरोप उल्लेख गरिएको छ। साथै, उक्त विषयमा प्रकाशित समाचारका प्रतिलिपिसमेत संलग्न गरिएको जनाइएको छ।

स्रोतका अनुसार प्रमाणपत्र नक्कली भएको पुष्टि भएमा यो मुद्दा कागजात जालसाजीसम्बन्धी गम्भीर फौजदारी अपराध अन्तर्गत पर्न सक्नेछ। मुलुकी अपराध संहिताअनुसार झुट्टा वा नक्कली कागजात तयार पार्ने, प्रयोग गर्ने वा गराउने कार्य दण्डनीय मानिन्छ।

कानुनी जानकारहरूका अनुसार नक्कली प्रमाणपत्रका आधारमा कुनै पद, अवसर वा सार्वजनिक मान्यता प्राप्त गरिएको ठहरिएमा त्यससँग सम्बन्धित उपलब्धि वा मान्यतामाथि समेत कानुनी प्रश्न उठ्न सक्ने अवस्था रहन्छ।

उषा खड्गी सन् २००० मा आयोजित मिस नेपाल प्रतियोगिताकी विजेता हुन्। यदी नक्कली शैक्षिक प्रमाणपत्र ठहर भएमा उनको मिस नेपालको ताज समेत खोसिन सक्छ ।त्यसअघि उनले सन् १९९९ मा मिस पोखरा तथा सन् २००० मा मिस वीरगञ्ज प्रतियोगितामा पनि उपाधि हासिल गरेकी थिइन्।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनीसंग प्रयास सफल हुन सकेको छैन।यद्यपि, हालसम्म सम्बन्धित निकायबाट सो प्रमाणपत्रबारे आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ७ : ३१ बजे