काठमाडौं । बीमा दोकानको आयोजनामा दोस्रो संस्करणको इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ। प्रतियोगिता वैशाख ७ र ८ गते काठमाडौंमा आयोजित भएको हो, जसमा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा तथा पुनर्बीमा कम्पनी गरी जम्मा ११ ओटा बीमा कम्पनीहरूको सहभागिता रहेको थियो।

टुर्नामेन्टको पहिलो दिन लिग चरणका साथै प्रारम्भिक नकआउट चरणका खेलहरू सम्पन्न भएका थिए। उक्त दिन सम्पन्न १० खेलहरूमा तीन कम्पनी नकआउट हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए। बाँकी रहेका ८ ओटा टोली दोस्रो दिन क्वाटर फाइनल चरणमा प्रवेश गरेका थिए।

क्वाटर फाइनल चरणमा प्रतिस्पर्धा गरेका टोलीहरूमध्ये हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स फाइनल खेलका लागि छनोट भएका थिए। प्रतिस्पर्धात्मक फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले हिमालयन लाइफ इन्स्योरेन्सलाई पराजित गर्दै उपाधि जित्न सफल भयो।
विजेता बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ट्रफीसहित ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको हिमालयन लाइफ इन्स्योरेन्सले १५ हजार रुपैयाँसहित मेडल र सिल्ड प्राप्त गरेको छ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले गरेका थिए। समापन समारोहमा नेपाल बीमा प्राधिकरणका प्रवक्ता तथा निर्देशक निर्मल अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, सिल्ड, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए।
आयोजक संस्थाका अनुसार, प्रतियोगितामा सहभागी टोलीहरूले उच्च मनोबलका साथ प्रदर्शन गरेका थिए। बीमा कम्पनीहरूका कर्मचारी तथा व्यवस्थापन तहका वरिष्ठ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको प्रतियोगिताले बीमा क्षेत्रभित्र आपसी सहकार्य, भाइचारा, शारीरिक स्फूर्ति तथा समन्वयको भावना विकास गर्न सहयोग पुर्याएको आयोजकको भनाइ छ।

प्रतिक्रिया