जनकपुर । जसपा नेपाल र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।
आइतबार बसेको बैठक सुरु भएलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक संसद अवरुद्ध गर्ने घोषणा गरे ।
उनले मुख्यमन्त्री सतिश कुमार सिंहले कुटनीति मर्यादा विपरित विदेश गएर गणतन्त्र विरोधी कार्य गरेको भन्दै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखे ।
त्यस्तै, मन्त्रालयहरुमा कमिशन लिएर पालिकालाई सशर्त बजेट वितरण हुने गरेको पनि उनले आरोप लगाए ।
संघका कर्मचारीसँग मोटो रकम लिएर कर्मचारीहरुलाई जिम्मेवारी दिने गरेको र महोत्तरीको टिकुलीया बजारमा केही दिन अघि भएको घटना लगायतका विषयहरुमा छानविन गर्न संसदीय छानविन समिति गठन नगरेसम्म अवरुद्ध गर्ने चेतावनी नेता साहले दिए ।
नेता साहपछि जसपा नेपालका संसदीय दलका नेता एवम पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले बजेट निर्माण गर्ने समयमा मुख्यमन्त्री सतिश कुमार सिंहले घोषणा गरेको प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँ कहाँ पुग्यो ? कसले पायो र कसले पाएन ? पायो भने त्यस्ले के के काम भए लगायतका प्रश्न गरेका थिए ।
त्यस्तै उनले मन्त्रालयबाट आउने बजेटको पत्र सचिवालयमार्फत किन र कसरी आउन लागेको भन्ने विषयमा छानविन हुनुपर्ने र त्यस्का लागि संसदीय छानविन समिति गठन हुनुपर्ने मागसहित सदन अवरुद्ध गरेका छन् ।
माओवादी र जसपा नेपालका सांसदहरुले संसद अवरुद्ध पारेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित भएको जानकारी गराएतापनि आधाघण्टा बढी भइसकेकामा अहिलेसम्म सुरु हुन सकेको छैन ।
प्रतिक्रिया