Logo

समाचार

रिटर्नी फेडेरेसको राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ मा हुने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसंगठनको रुपमा क्रियाशील रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत्र १५ र १६ गते हुने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी फेडेरेसनले वैदेशिक रोजगारबाट स्वदेश फर्केका रिटर्नीहरुको सामाजिक, आर्थिक र राजनीतिक समायोजनलाई प्रमुख आधार मान्दै दोस्रो राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ गते काठमाडौमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

महाधिवेशनमा ६५ जिल्लाका ६०० जना प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

महाधिवेशन आयोजनापूर्व संगठनका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश कमिटी, ५८ ओटा जिल्ला कमिटी र २५० बढी पालिका कमिटीको अधिवेशनहरु सम्पन्न भएको जनाएको छ ।

दुईवटा प्रदेश कमिटी र सात वटा जिल्ला कमिटीहरुमा सम्मेलन आयोजक कमिटी निर्माण भै ६५ जिल्लामा संगठन विस्तार भएको, विभिन्न सातवटा मुलुकमा फेडेसनका प्रवास प्रतिनिधिहरु रहेको र संगठनले संचालन गरेको सदस्यता विस्तार अभियान मार्फत ३५ हजार सदस्य थप भएको जनाइएको छ ।

महाधिवेशनको उदघाटन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट हुने जनाइएको छ ।

महाधिवेशनले नौ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटी तथा पाँच सदस्यीय लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग निर्वाचित गर्नेछ । साथै आम रिटर्नी समुदायको हितका पक्षमा र संगठनको आन्तरिक विषयमा संगठनले लिनुपर्ने भावी कार्यदिशा र कार्यक्रमहरु तय गर्ने तयारी छ । त्यस्तै उद्यमशीलता सहितको राजनीतिको मूलबाटो कार्यान्वयनका लागि सामुहिक उद्यमका अवधारणाहरु र कार्यान्वयनका आधार अघि सार्ने ,संगठनबाट वैचारिक, सैद्धान्तिक र सांगठनिक क्षमता विकास भई नेतृत्व तहबाट विदा हुने नेताहरुको व्यवस्थापनका सन्दर्भमा योजना निर्माण गर्ने फेडेरेसनको विधान २०७८ मा आवश्यकता अनुसार संसोधन गर्ने समेत जनाइएको छ ।  

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : २४ बजे