काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा माधव चम्लागाईंले उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी सार्वजनिक गरेका हुन्।
चम्लागाईंले आफू अपाङ्गता भएका व्यक्तिहरूका हक र अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएको र त्यसको मूल्यांकन हुनमा विश्वस्त रहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नका लागि संविधान निर्माणदेखि कांग्रेसको विधान संशोधनसम्मको प्रक्रिया अघि बढाएको र अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक प्रतिनिधित्वका लागि विभिन्न तहका नेतासँग छलफल गरेको उल्लेख गरे।
चम्लागाईंले अपाङ्गता भएका व्यक्तिहरूको हक र हितका लागि काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि अरुले बोल्न सक्दैनन्, उनीहरूले आफैं आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्छ।
उनले अपाङ्गमैत्री संरचनाको आवश्यकता औंल्याउँदै डिजिटल र भौतिक क्षेत्रमा पनि अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्न काम गर्ने योजना व्यक्त गरे। साथै, अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्याको २.२ प्रतिशतको आधारमा संसद र स्थानीय तहमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि लबिङ गर्ने प्रतिबद्धता जनाए।
चम्लागाईंका केन्द्रीय सदस्यका रूपमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकारका लागि नीति निर्माणमा लामो समयदेखि योगदान गर्दै आएका छन्। उनले आगामी दिनमा नेपाली कांग्रेसको विधानमा अपाङ्गता समावेशीकरण र अनिवार्य राजनीतिक सहभागिता सुनिश्चित गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको रोजगार र सामाजिक सुरक्षा सुनिश्चित गर्ने जस्ता योजना पनि प्रस्तुत गरे।
चम्लागाईंका प्रमुख प्रतिबद्धताहरू:
संविधान संशोधन गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने।
नेपाली कांग्रेसको विधानमा अपाङ्गता भएका व्यक्तिहरूको समानुपातिक र समावेशी सहभागिता सुनिश्चित गर्ने।
अपाङ्गता भएका व्यक्तिहरूको रोजगार र सामाजिक सुरक्षा सुनिश्चित गर्ने।
अपाङ्गता भएका व्यक्तिहरूको समस्याहरूको समाधान स्थानीय तहसम्म पुर्याउने।
चम्लागाईंले अपाङ्गता भएका व्यक्तिहरूका लागि सबै संरचनामा समावेशी र अपाङ्गमैत्री बनाउन काम गर्ने र युवाहरूको सामूहिक प्रयासबाट समस्या समाधान गर्ने योजना व्यक्त गरे।
प्रतिक्रिया