Logo

मुख्य समाचार

दुई सदनबीच द्वन्द्व निम्त्याउने काम भयो : सांसद पन्त



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण निर्माण गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैंमा दुःखद् हो । यसबाट पाठ सिकौं, कसै व्यक्तिलाई दोष नदिउँ । दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने काम नगरौं, संविधानले दुई संसदीय प्रणाली अंङ्गिकार गरेको छ ।  दुई सदन छन् । यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ ।  एक सदनले बोलेका कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैंमा दुःखद हो ।’

साथै  उनले  यस्तो द्वन्द्व बढ्दै गयो भने यसले संसदीय व्यवस्था र लोकतन्त्र कमजोर बनाउने बताए ।  प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र बहादुर शाहीको अभिव्यक्तिलाई लिएर हिजो राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो । सांसद शाहीले राष्ट्रिय सभालाई बृद्धाश्रमको संज्ञा दिएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : ४० बजे