काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्फोडेभलपर्स प्राइभेट लिमिटेड बीच बैंकको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने सम्झौता भएको छ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत, सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा.लि. का स्ट्राटेजी एण्ड इनोभेसन निर्देशक, उमेश रघुबंशीले हस्ताक्षर गरेका छन्।
‘बजेट ३६०’ सफ्टवेयरले बैंकको बजेट र योजना तर्जुमा प्रक्रिया सुधार गर्ने, स्रोत परिचालनमा सहायता पुर्याउने र बैंकको वित्तीय उद्देश्यहरू पुरा गर्न महत्त्वपूर्ण भूमिका निभाउने छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सफ्टवेयरको प्रयोगबाट बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुने र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
इन्फोडेभलपर्स प्रा.लि. का निर्देशक उमेश रघुबंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर ‘बजेट ३६०’ कार्यान्वयन गर्न पाउँदा उत्साहित रहेको बताएका छन्।
‘बजेट ३६०’ एक स्वचालित वित्तीय व्यवस्थापन प्रणाली हो, जसमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ र निरन्तर ट्र्याकिङ जस्ता सुविधाहरू समावेश छन्। यो सफ्टवेयर बैंकको कोर बैंकिङ सिस्टमसँग सजिलै एकीकृत गर्न सकिने गरी डिजाइन गरिएको छ।
सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत, चन्द्रराज शर्मा र इन्फोडेभलपर्स प्रा.लि. का कर्पोरेट म्यानेजर, सुबास पौडेलको उपस्थिती रहेको थियो।
ग्लोबल आइएमई बैंक हाल नेपालका सबै ७७ जिल्लामा शाखा सञ्जालसँगै १,१०० भन्दा बढी सेवा केन्द्रहरू मार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस बैंकले नेपालभरका ग्राहकलाई बैंकिङ सेवा मात्र नभई अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया