Logo

मुख्य समाचार

मन्थली नगरपालिका चैत २५ भित्र बालमैत्री नगरपालिका बन्दै



रामेछाप । मन्थली नगरपालिकाले आउँदो चैत्र २५ गते भित्र बालमैत्री शासन सञ्चालनमा ल्याउने भएको छ । मन्थली नगरपालिकाको नगर सभाले सो नगरलाई बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले २०७९ बाट बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गर्ने अभियान सुरु गरेको थियो । त्यसका लागि नगरपालिकाले १४ वटै वडामा सहजकर्ता नियुक्त गरी सूचकको तथ्याङ्क सङ्कलन तथा सूचक पुरा गर्नको लागि आवश्यक काम गरिरहेको छ ।

नगरपालिकाले २ वर्षमा नगर, वडा र टोलमा बाल समूह नगर सञ्जाल, वडा सञ्जाल, किशोरी समूह, किशोरी सञ्जाल, नगर बाल अधिकार समिति, वडा बाल अधिकार समिति, बालमैत्री स्थानीय शासन वडा समिति र नगर समिति जस्ता समितिहरू गठन गरी सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठका अनुसार बालमैत्री स्थानिय शासन भएको नागरपालिका बन्न विभिन्न ५१ वटा सूचक पुरा गर्नुपर्दछ । ती मध्ये मन्थली नगरपालिकाका १४ वटा वडाले ३७ देखि ४६ वटासम्म सूचक पूरा गरेका छन् । मापदण्ड अनुसारका पुरा गर्न बाँकी सूचक पुरा गरेर सबै वडालाई बालमैत्री शासन सञ्चालन भएका वडा घोषणा गरी चैत २५ गते मन्थली नगरपालिकालाई बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गरिने श्रेष्ठले बताए ।

तोकिएका सूचक पुरा गर्नको लागि नगरपालिका र वडा कार्यालय लागेका बताउँदै श्रेष्ठले यसमा सहयोग गर्न नगरवासीलाई पनि आग्रह गरे ।

‘तोकिएका सूचक पुरा गर्न नगरपालिका वा वडा कार्यालयले मात्र काम गरेर हुँदैन यसमा हरेक नागरिकको सहयोग र सहभागिता आवश्यक पर्दछ, अभिभावकले विद्यार्थीलाई नियमित विद्यालय पठाइदिएनन् भने पनि हाम्रो सूचक पुरा हुँदैन, जन्मिएको बच्चालाई समयमा खोप लगाउन स्वास्थ्य संस्था लगिएन भने पनि सूचक पुरा हुँदैन, यसका धेरै कुरा हरेक नागरिकसँग जोडिन्छन्, त्यसैले यो कार्यमा सहयोग गर्न सबै नगरबासीलाई अनुरोध गरेका छौँ, यो सभ्य समाज निर्माण गर्ने अभियान हो’, श्रेष्ठले भने ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ४२ बजे