Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकले “ग्लोबल हाट बजार” सञ्चालनमा ल्यायो



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीहरूको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले “ग्लोबल हाट बजार” सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना ऋण लगानीमा सञ्चालित उद्यमीहरूको उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले हरेक शुक्रबार काठमाडौँको कमलादी शाखामा हाट बजार आयोजना गर्ने निर्णय गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत, सुरेन्द्रराज रेग्मीले उक्त हाट बजारको उद्घाटन गरेका छन्। उनले हाट बजारको प्रमुख उद्देश्य दिगो र हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने लघु, साना तथा मझौला उद्यमहरूको बजार पहुँच विस्तार गर्नु रहेको बताए।

रेग्मीले हाट बजार मार्फत अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने उद्देश्य पनि उल्लेख गरे। उनले भने, “यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो। यसैगरी, हाम्रा अर्गानिक र रैथाने उत्पादनको प्रवद्र्धन गर्न सकिन्छ।”

हाट बजारमा विषादीरहित कृषि उत्पादन, रैथाने बाली, हस्तकला सामग्री र सजावटका लागि बिरुवा लगायतका सामाग्री प्रदर्शन र बिक्रीका लागि राखिने जानकारी दिइएको छ।

ग्लोबल आइएमई बैंक, २०२४ मा ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड र युरो मनी एक्सलेंस अवार्ड २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ। बैंकले देशभर ३५४ शाखा र १,१०० भन्दा बढी सेवा केन्द्रहरुमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

बैंकले विभिन्न राष्ट्रहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै नेपाली नागरिकलाई बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ४ : ३९ बजे