Logo

समाचार

सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू



काठमाडौं  । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ। ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को उद्घाटन आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा गरे।

उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको उल्लेख गर्दै भने, “मानव शरीर, प्रकृति र ऊर्जा (क्यूआई) को सन्तुलनमा आधारित यो विधिले उपचार प्रणालीलाई समृद्ध बनाउँदै लगेको छ। एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शजस्ता विधिहरूले स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।”

मन्त्री गुप्ताले सिभिल अस्पतालमा यस विधिको प्रयोग विस्तार गरेर विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए। उनले विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र यसले स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्दै उनले सिभिल अस्पतालको प्रभावकारिता र विस्तारका लागि चिनियाँ सहयोगको निरन्तरता अपेक्ष्या गरेका छन्।

चिनियाँ राजदूत छेन सोङले नेपालका लागि सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नमूना अस्पताल बनाउन चीनको निरन्तर सहयोग दिने प्रतिबद्धता व्यक्त गरे।

सिभिल अस्पतालको स्थापना चीन सरकारको मुख्य सहयोगमा २०६४ सालमा भएको हो, र त्यसपश्चात पनि निरन्तर चिनियाँ सहयोग प्राप्त भइरहेको छ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, आर्थिक तथा वाणिज्य दूत से यू, परराष्ट्र मन्त्रालयका उपसचिव मणिराम शर्मालगायतका अधिकारीहरूको उपस्थिती थियो।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ४ : २० बजे