काठमाडौं । पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयले हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.सँग अनियमितता गर्दै अनावश्यक रकम भुक्तानी गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
आ.व. २०७३/०७४ मा अछाम जिल्लाको साँफेबगर नगरपालिका, वडा नं. ७ स्थित हिलसाइड पोलिटेक्निक इन्स्टिच्युटसँग पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सम्झौता भएको थियो। सम्झौताअनुसार, १५ गतेभित्र काम सम्पन्न गरी अनुदान रकम भुक्तानी लिनुपर्ने थियो। तर, अनुसन्धानका क्रममा उक्त पशुहाट बजार सञ्चालनमा नरहेको र यसका परिसरको जग्गा धनीले आफ्नो नियन्त्रणमा लिइ भाडामा दिएको पाइएको थियो ।
स्थलगत नापजाँच गर्दा निर्माणमा केही कार्यहरू पूरा नभएको, केही कार्यहरू कम भएको र केही कार्यहरूको दोहोरो मूल्यांकन गरी बढी भुक्तानी गरिएको पुष्टि भएको छ। यसरी बढी भुक्तानी गरिएको रकम रु. ६३,४६,९४३।७६ को ७० प्रतिशत, अर्थात रु. ४४ लाख ४२ हजार ८ सय ६१ हिलसाइड पोलिटेक्निक इन्स्टिच्युटलाई झुट्टा बिलको आधारमा भुक्तानी गरिएको थियो।
यसको परिणामस्वरूप, पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका तत्कालीन कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्री, लेखा अधिकृत राम प्रसाद बजगांई, पशु विकास अधिकृत पूजा शर्मा, अछाम जिल्ला पशुसेवा कार्यालयका अधिकृत विश्वेश्वर प्रसाद खनाल र हिलसाइड पोलिटेक्निक इन्स्टिच्युटका पदाधिकारीहरूसहित अन्य संलग्न व्यक्तिहरूलाई गैरकानूनी लाभ र सरकारी कोषमा हानि पुर्याएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
प्रतिक्रिया