काठमाडौं । राष्ट्रिय सभा सदस्य पदम बहादुर परियारले अपांगता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रमा काम गर्नेगरी दुईवटा पारा ओलम्पिक कमिटीलाई एक बनाउन माग गरेका छन् ।
राष्ट्रिय सभाको, सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंसिर १६ गते बसेको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमक्ष परियारले उक्त माग राखेका हुन् ।
समितिका सदस्य समेत रहेका परियारले मन्त्रालय अन्र्तगत अपांगता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रमा काम गर्नेगरी हाल दुइवटा पारा ओलम्पीक कमिटीहरु संचालनमा रहेको र यसले पारा खेलकुदमा काम गर्न अप्ठ्यारो परेको भन्नेतर्फ मन्त्री तथा सदस्य सचिवको ध्यानाकर्षण गर्दै राष्ट्रिय पारा खेलकुदको मिति तोक्न पनि माग गरे ।
जबाफमा मन्त्री चौधरीले पारा ओलम्पीक कमिटिलाई एक बनाउने सबालमा काम गरिरहेको र छिटै निष्कर्षमा पुग्ने तथा राष्ट्रिय खेलकुद लगत्तै पारा खेलकुद पनि आयोजना गर्ने मन्त्रालयको योजना रहेको सुनाए ।
त्यस्तै मन्त्री चौधरीले १०औ राष्ट्रिय खेलकुद आउँदो फागुन महिनामा कर्णाली प्रदेशमा नै आयोजना हुने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा मदन कुमारी शाह गरिमाले मन्त्रालयले खेलकुद तथा युवा नीति नियमहरुका बारेमा राखेको जिज्ञासामा मन्त्रालयका सचिव सुमनराज अर्यालले हाल मन्त्रालयले राष्ट्रिय युवा नीति, खेलकुद नीति र खेलकुद ऐन संसोधनका लागि काम गरिरहेको जानकारी गराइन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले राष्ट्रिय खेल संघहरुलाई व्यवस्थित र जिम्मेबार बनाउन तथा २०२६ मा जापानमा हुने एसीयन खेलकुदमा नेपालले डबल डिजिटको पदक ल्याउने लक्ष्यका साथ मिसन २०२६ का लागि कार्य गरिरहेको बताए ।
समितिका सभापति माया प्रसाद शर्माले मन्त्रालयलाई १०औ राष्ट्रिय खेलकुदलाइ कुनै हालतमा पनि कार्यान्वयन हुनेगरी कार्य गर्ने मन्त्रालयको विषेश ध्यानाकर्षण गर्दै यस विषयमा समितिले निरन्तर खबरदारी गर्ने बताए ।
प्रतिक्रिया