काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो ।
भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो ।
आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् ।
प्रतिक्रिया