Logo

मुख्य समाचार

उद्योग मन्त्री भण्डारी र अस्ट्रेलियन राजदूत लियान जोन्स्टन बिच शिष्टाचार भेट


२७ कार्तिक २०८१, मंगलबार  

69
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग र नेपालका लागि अस्ट्रेलियन राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले दुई बिचको सम्बन्ध थप बलियो हुने बताएका छन् ।  सन् १९६० मा नेपाल र अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापना भए देखी मित्रता, सहयोग र आपसी सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।

उनले भने, ‘अस्ट्रेलिया नेपालका लागि मित्र राष्ट्र र महत्त्वपूर्ण साझेदार हो, नेपाललाई अस्ट्रेलियाबाट विभिन्न सहयोग प्राप्त भएको छ । स्वास्थ्य, जीविकोपार्जन र मानव संसाधन जस्ता क्षेत्रहरूमा सहयोग भएको छ ।’

उनले नेपाललाई अति कम विकसित देशबाट योजनाबद्ध रूपमा स्तरोन्नति गरी सन् २०२६ मा विकासशील देश बनाउन र दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई थप सहयोग आवश्यक भएको बताए ।

मन्त्री भण्डारीले स्रोत, प्रविधि र साझेदारीका सन्दर्भमा व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे ।

अस्ट्रेलिया नेपालको प्रमुख व्यापार साझेदार रहेको बताउँदै मन्त्री भण्डारीले दुई देशलाई फाइदा हुने गरी द्विपक्षीय व्यापार विस्तार गर्न आवश्यक रहेको बताए ।

लगानीका दृष्टिकोणले पनि अस्ट्रेलियाको प्रमुख भूमिका रहेको उनको भनाइ छ ।

नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना रहेको बताउँदै उहाँले सूचना प्रविधि, जलविद्युत र कृषिमा आधारित उद्योगमा लगानीका लागि ५० भन्दा बढी देशका लगानीकर्ताहरू सहभागी लगानी सम्मेलनमा आग्रह गरेको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : १३ बजे