Logo

कर्पोरेट

मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै एनएलजी इन्स्योरेन्स


२१ कार्तिक २०८१, बुधबार  

92
Shares

काठमाडौं । कम्पनीले बुधवार हकप्रद शेयर निष्कासन गर्ने मिति तय गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर मंसिर ११ गतेदेखि निष्कासन गर्ने भएको हो ।

यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति भने कम्पनीले यस अघिनै तय गरेको थियो । कम्पनीले कात्तिक २७ गते एक दिन उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले यो हकप्रद खरीदका लागि पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।  बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । अनलाईन आवेदनका लागि मेरो शेयर समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीलाई यो हकप्रद शेयर निष्कासनका लागि बोर्डले असोज ११ गते अनुमति दिएको थियो । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि २०८० साल कात्तिक २ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले तत्कालित कायम रहेको १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्तापूँजीको आधारमा ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव २०८० साल साउन १५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको थियो । 

सोही निर्णय बमोजिम कम्पनीले २०८० साल कात्तिक २ गते ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको थियो । बोर्डबाट स्वीकृति प्राप्त नहुँदै २०८० साल फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई उक्त बोनस शेयर वितरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ चुक्तापूँजी कायम भएको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनारावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

सो निर्णयलाई कात्तिक ७ गते सम्पन्न विशेष साधारण सभाले स्वीकृति समेत प्रदान गरिसेकेको छ । यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यो हकप्रद विक्री पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ । 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  २ : १८ बजे