Logo

मुख्य समाचार

एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह



काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् ।

आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन् ।

उनले भने, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्य अनुसार धेरै कामहरु गरिसकेको छ । तर आउना साथ जादुको छडी कसैसँग छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जे जे समस्याहरु छन् ति चाँही सम्बोधन गर्नको लागि समय लाग्ने गर्छ । तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौं । तर कुनै उल्लेखनीय काम मैंले जादु नै गरे भन्ने अवस्था चाँही छैन ।’

साथै उनले शहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए । उनले शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे ।

उनले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको बताए । उनले मिडियामा समाचारहरु नराम्रो कामको मात्र आउने तर राम्रो काम गरेको समाचार नआउँदा दुःख लाग्ने गरेको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : ४४ बजे