Logo

मुख्य समाचार

तत्काल उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन आइएनजिओलाई मन्त्री सुडीको निर्देशन



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहत कार्यमा लाग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई निर्देशन दिएका छन् ।

आइतबार समाज कल्याण परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री सुडीले परिषद्मा आकस्मिक बैठकको आयोजना गरी उक्त निर्देशन दिएका हुन् ।

त्यस अवसरमा मन्त्री सुडीले नेपालमा पछिल्लो केही समय कल्पना नगरिएको विपद्को सामना गर्नुपरेको बताए । विगतमा बाढी नआउने क्षेत्रमा अहिले बाढी पहिरोको समस्या आइरहेको भन्दै उनले यसपटक काठमाडौँले समेत ठुलो बाढीको सामना गर्नुपरेको बताए ।

उनले भने, ’हामी विगत ६० वर्षदेखि यता आवतजावत गर्ने गरेका छौँ तर, यसपटक निकै विकराल अवस्था देखिएको छ । यसपटक धनजनको क्षति ठुलो मात्रामा भएको छ । क्षतिको पूणर् विवरण आउन बाँकी छ । सरकारले अहिलेसम्म सकेको प्रयासहरू गर्दै आएको छ । नेपाली सेना, प्रहरी, जनपथले निकै सक्रिय भएर उद्धार तथा राहतको कार्यमा लाग्नुभएको छ । आजको दुर्भाग्यपूणर् अवस्थामा तपाईँहरू सबैलाई उद्धार तथा राहतमा लाग्न आग्रह गर्दछु ।’

जिल्लामा विपद् व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासनलाई दिइएकोले उनीहरूमार्फत नै डुप्लिकेशन नहुने गरी योगदान गर्न उनले निर्देशन दिए ।

‘सम्पूणर् बाटोहरू अवरुद्ध छ । मुलुकको अन्य क्षेत्रबाट काठमाडौँ पुणर्रूपमा सम्पर्क विच्छेद भएको छ । यस अवस्थामा हामीले तपाईँहरूबाट के आशा गर्छौ भने, तपाईँहरू सबै मिलेर कल्याणकारी काम गरेर सेवा गरौँ । नेपालमा यस्तो अवस्था आयो, धेरै जना घरबारविहीन भएको छ । हाम्रो तर्फबाट के हुन सक्छ । त्यसमा हामी लागौँ । अहिले मुख्य रूपमा त्रिपाल, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको उपलब्ध गराउनतिर लागौँ । त्यसपछि बाँकी के गर्ने भन्ने कुराहरू हुन्छ ।’

मन्त्री सुडीले तत्काल जनतालाई बचाउनका लागि काम गर्न आग्रह गरे । यसैबीच गत असोज १० गतेदेखि परेको अविरल वर्षापछि भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको घटनामा तत्काल आवश्यक उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संघसंस्थाहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ४३ बजे