Logo

बागमती प्रदेश

काठमाडौंका बाढी पीडितको साथमा वडाध्यक्ष, एक हजार १६० को उद्धार



काठमाडौँ । अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् ।

वडा नं. १० ले शनिबार विहान चारसय जनालाई खानाको व्यवस्था गरेको थियो । बेलुका ५ सय जनाका लागि व्यवस्था गर्यो । वडाध्यक्ष रामकुमार केसी भन्छन्,‘अहिले पाँचसय जनालाई खानाको प्रबन्ध गरेका छौँ । अवस्था सामान्य भइसकेकोले बेलुकाबाट खाना उपलब्ध गराउने कार्यक्रम रोकिनेछ ।’

बागमती नदीले वडा १० का शंखमुल, वुद्धनगर, दोभानलगायत क्षेत्रमा बढी प्रभाव पारेको छ । बागमती र विष्णुमतीको दोभान रहेको वडा नं. १२ र १४ हो । यसको बढी प्रभाव वडा नं. १४ को बल्खु क्षेत्रमा पर्छ ।

वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठका अनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफुल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुशी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभावमा परेको महानगरले जनाएको छ । वडाले शनिबार वाढी प्रभावित १२५ जनालाई कम्बल वितरण गर्यो भने चार सय जनाका लागि दिउँसो पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरेको थियो ।

विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट विछ्याइएको छ । वडा नंं ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितहरुका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङ्लाई पकाउने जिम्मा दिइएको छ ।

प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ । वडा सदस्य यता पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कूलका खानपानको व्यवस्था गरिएको छ ।  

शुक्रबारबाट परेको अविरल बर्षाका कारण नदी किनाराहुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो । यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिवार बिहानैदेखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए । यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरुसँगमा खोज र उद्धारको काम गरेका थिए । यसका लागि चारवटा रेस्क्यु बोट (डुङ्गा) को प्रयोग गरिएको थियो ।

काठमाडौँ जिल्लाका विभिन्न ठाउँमा बाढीमा फसेका एक हजार १६० जनालाई उद्धार गरिएको थियो । खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएका ११ जनाको शव निकालिएको थियो । ७४ वटा पशु चौपाया क्षति भएको र १ हजार ३४० वटा घर डुवान परेका थिए ।

यसमध्ये काठमाडौँ महानगरपालिकाको शंखमुलमा, बाढी विपदमा फसेका पाँच जनालाई, बल्खु कालीमाटीबाट ७११ जनालाई कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय गेट अगाडिबाट १५१ जनालाई, वडा नं. १ नक्साल क्षेत्रबाट ११० जनालाई, कोटेश्वर बालकुमारी झोलुङ्गे पुल क्षेत्रबाट २८ जनालाई उद्धार गरिएको थियो ।

भित्री सहरी क्षेत्रमा पनि पानीको निकास बन्द भएर घर पसल, कवल डुवान भएको थियो ।

बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुखी खोला, करखुशी खोला, बल्खु खोला, भचाखुशी नदी महानगरपालिकाभित्रका नदीहरु हुन् । अविरल बर्षाका कारण नदीसँगै खोल्साहरुमा पनि पानीको तीब्र बहाव आएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ४४ बजे