Logo

Breaking News 1

उद्धार, राहत तथा घाइतेहरुको उपचारमा सरकार गम्भीर भएर लागिपरेको गृहमन्त्रीको दाबी



काठमाडौं । गृहमन्त्री रमेश लेखक बिहीबारदेखिको निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको दाबी गरेका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए ।

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।’ गृहमन्त्री लेखकले भने,‘ मुलुकमा ठुलो विपद्को स्थिती आएको छ ।’ उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सुचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।

‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ उनले भने,‘उद्दार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।’ बर्षाका कारण काठमाडौं भित्रिने सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

‘विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।’ उनले भने, ‘बाढी, पहिरो लगायत विपद् सम्बन्धि पूर्व सूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।’ उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो । उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४सै घण्टा सक्रिय बनाइने बताए ।

‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमा समेत समस्या भयो ।’ उनले भने, ‘स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।’

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : २४ बजे