Logo

मुख्य समाचार

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा



महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालयमा बिदा दिन थालिएको छ । जिल्लाको सुदूरदक्षिणवर्ती मनराशिसवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीका कारण सोमबार (आज)देखि ६ दिन विद्यालयमा बिदा दिने सूचना गरेको हो ।

घामको प्रचण्ड राप बढेर बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या भएपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए । यसअघि, गएको जेठमा पनि मनराशिसवासहितका जिल्लाका सबै स्थानीय तहले गर्मी छल्न सात दिन बिदा दिएका थिए ।

जिल्लाका अरू स्थानीय तहले पनि विद्यालयमा बिदा दिने तयारी गरेका छन् ।

जिल्लामा असोज लागेपछि बढेको प्रचण्ड रापले सरकारी कार्यालयमा कामविशेषले पुग्ने सेवाग्राही निकै घटेका छन् । यसैगरी, हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ३ : ०४ बजे