Logo

मुख्य समाचार

भाषा, साहित्य, संस्कृति देशको गौरव र पहिचान : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार सम्वोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरे ।

उनले भने, ‘हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान परम्पराको संरक्षण, संवर्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो ।’ 

उनले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए । 

‘भाषा मानिसका चाहना, भावना, विचारहरूको विनिमय गर्ने सशक्त माध्यम हो । साहित्य भाषाको सबैभन्दा सुन्दर एवं कलात्मक अभिव्यक्ति हो । साहित्यले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै साथसाथै भाषालाई युगौँ युगसम्म जीवित राख्ने काम पनि गर्छ’, उनको भनाइ छ ।

उनले मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चरणमा साहित्यको अहम् भूमिका रहेको उल्लेख गरे । सो अवसरमा राष्ट्रपति पौडेलले विजयी कविहरूलाई पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ५१ बजे