काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो ।
प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेको थियो ।
रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । उक्त जाहेरी खारेजीको माग राख्दै शनिबार प्रसाईका समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए ।
तर साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले प्रसाईं पक्राउबारे आफूलाई जानकारी नभएको बताए ।
उनले भने,‘निवेदन त धेरैको पर्छ । सबैलाई पक्राउ गर्ने कुरो भएन तर प्रसाईं पक्राउ बारे यहाँ जानकारी आएको छैन । निवेदन परेकै आधारमा पक्राउ गर्ने हुँदैन निबेदन त तपाइँहरुको पनि परेको होला नि । प्रसाईं पक्राउबारे यहाँ आधिकारिक जानकारी छैन ।’
प्रतिक्रिया